Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks

Friday, June 21, 2013

हनुमानढोका प्रहरी खोरमा ३ जना पत्रकार भेटिए

७ असार, काठमाडौं । नेपाल प्रेस काउन्सिलका पदाधिकारीले शुक्रबार काठमाडौं जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा ३ जना पत्रकार फेला पारेका छन् । अनलाइनमा समाचार लेखेको आरोपमा हिरासतमा राखिएका तीन पत्रकारहरुमा सुशील पन्त, सन्तोष भट्टराई र एक्ट्राखबरका पुष्कर कँडेल रहेका छन् । अदालतले शुक्रबार पन्तलार्इ थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।
डिल्लीबजारस्थित कन्या क्याम्पसको शौचालयमा भण्टा भेटिएको समाचार सबैभन्दा पहिले एक्ट्राखबरले लेखेको थियो । त्यसपछि कन्या स्कूलका प्रमुखले आफ्नो शैक्षिक संस्थालाई बदनाम गर्न नक्कली अनलाइन खोलेर यस्तो प्रचार गरिएको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले सबैभन्दा पहिले काडेललाई गुल्मीबाट पक्राउ गरेको थियो । पछि नेपाली हेडलाइन्समा पनि समाचार आएको भन्दै पत्रकार पन्त र भट्टराईलाई प्रहरीले पक्राऊ गरी हिरासतमा लिएको हो ।
पत्रकार भनेर चिनेनौं : प्रहरी
नेपाल प्रेस काउन्सिलका पदाधिकारीले शुक्रबार हनुमानढोका पुगेर प्रहरी अधिकारीहरुसाग पत्रकारको गिरफ्तारीबारे छलफल गरेका छन् । छलफलका क्रममा प्रहरीले उनीहरुलाई नक्कली भएको आरोपमा गिरफ्तार गरिएको बताएका छन् । ‘नक्कली अनलाइन खोलेर स्कूललाई बदनाम गरेको उजुरीका आधारमा समातेका हौं, सही पत्रकार रहेछन् भन्ने तपाईहरुसँग भेटेपछि मात्रै थाहा भयो ।’ प्रहरीको भनाइ उधृत गर्दै प्रेस काउन्सिलका एक सदस्यले अनलाइनखबरसँग भने ।’
हनुमानढोकामा शुक्रबार भएको छलफलमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, सदस्य किशोर श्रेष्ठ, खिलबहादुर भण्डारी र मनऋषि धिताल हुनुहुन्थ्यो भने जिल्ला प्रहरी कार्यालयका तर्फबाट एसएसपीद्वय सुवोध घिमिरे, विजयलाल कायस्थ र एसपी प्रद्युम्न कार्की सहभागी हुनुहुन्थ्यो ।
छलफलमा काउन्सिलका पदाधिकारीले अनलाइनमा लेखिएको सामाचारका सम्बन्धमा काउन्सिलले नै कारवाही गर्ने ०६४ कात्तिक २० गतेको नेपाल सरकारको निर्णय सुनाउँदै पक्राउ परेका पत्रकार आफूहरुलाई जिम्मा लगाउन प्रहरीसँग आग्रह गरेका थिए । प्रहरीले यसबारे सकारात्मक हुँदै आजै सरकारी वकीलसँग सल्लाह गर्ने जानकारी दिएको काउन्सिल सदस्य किशोर श्रेष्ठले अनलाइनखबरलाई बताउनुभयो । प्रहरी प्रमुखले उनीहरुलाई विद्युतीय कारोवार अन्तरगत नभई सार्वजनिक अपराधको मुद्दा दर्ता गरेर प्रजिअ मार्फत पनि छाड्न सकिने बताएको तर, आफूहरुले तत्काल रिहा गर्न आग्रह गरेको श्रेष्ठले बताउनुभयो । समाचारमा चित्त नबुझेको भए कन्या स्कूलका प्रमुखलाई प्रेस काउन्सिल पठाइदिन पनि पदाधिकारीले प्रहरी प्रमुखलाई भनेका छन् ।
यसैवीच शुत्रकबार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकमा पत्रकारको रिहाइका लागि पहल गर्न प्रेस काउसिन्सलका पदाधिकारीले गृहमन्त्री माधव घिमिरेका साथै सूचना तथा सञ्चारमन्त्री माधव पौडेलको समेत ध्यानाकर्षण गराएका छन् । तर, काउन्सिलका पदाधिकारीहरूले भेटेलगतै प्रहरीले पन्तलाई अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि ७ दिन थुनामा राख्न म्याद बुझाको छ ।
अनलाइन मिडिया एसोसिएसनद्वारा भर्त्सना
अनलाइन मिडिया एसोसिएसनका अध्यक्ष दिनेश बस्नेतले एक वक्तव्य जारी गरी अहिलेको विश्व अनलाइनमा अभ्यस्त हुने क्रममा र रेडियो,
टेलिभिजन र प्रिन्ट मिडिया अर्थात मल्टिमिडियाको रुपमा उपयोगमा आएको अनलाइन मिडियामा युवा उपस्थितिसमेत बढिरहेको भन्दैगिरफ्तारीको भत्सर्ना गर्नुभएको छ । राज्यले शिक्षित युवाहरुलाई रोजगारी दिन नसकिरहेका बेला युवाहरु स्वयमको पहलमा विकास भएको अनलाइन मिडियामाथिको राज्यको यो वक्रदृष्टि स्वयमका लागि घातक सिद्ध हुने निश्चित रहेको वक्तव्यमा उल्लेख छ ।
अनलाइनकर्मीहरुले माध्यम फरक भए पनि पत्रकारिता गरिरहेका छन् भन्दै वक्तव्यमा अझ अधिकांश अनलाइन मिडियाहरुले पत्रकार महासंघ र प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र छापाखाना तथा प्रकाशन ऐनप्रति पूर्ण प्रतिवद्धता जनाएर अनलाइन सञ्चालन गरिरहेका उल्लेख गर्दै कानुन बनाउनु र अनलाइनहरुलाई एउटा संयन्त्रमा ल्याउने दायित्व राज्यको हो भनिएको छ । ।
अनलाइनबाटै अनविज्ञहरुबाट निर्माण गरिएको विद्युतीय कारोबार ऐनले अनलाइन पत्रकारिता व्यवस्थापन गर्न नसक्ने निश्चित रहेको उल्लेख गर्दै वक्तव्यमा अनलाइन मिडियाहरुको हकमा विद्युतीय कारोबार ऐन लगाउने कार्य तत्काल रोक्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। वक्तव्यमा अनलाइन मिडियाहरुका लागि अहिलेकै छापाखाना तथा प्रकाशन तथा प्रसारणसम्बन्धी ऐनहरुबाटै उपचार गरिनुपर्ने मागसमेत गरिएको छ ।
एउटा कलमजीवीलाई समाचार लेखेकै आधारमा अपराधीलाई जसरी पक्राउ गर्नु निन्दनीय कार्य भएको ठहर गर्दै पत्रकार पन्तको तत्काल रिहाईको माग गरिएको छ । वक्तव्यमा उनले के लेखे र के लेख्नु हुन्नथ्यो भन्ने कुराको निर्क्योल पत्रकारितासँग सम्बन्धित कानुनबाटै खोज्नसमेत आग्रह गरिएको छ । अनलाइन पत्रिकाहरुमाथि विद्युतीय कारोबारबाट उपचार खोज्ने प्रक्रिया रोक्न र पत्रकार पन्तको रिहाइ माग गर्दै वक्तव्यमा अहिलेकै प्रक्रिया निरन्तर रहे अनलाइनकर्मीहरु सशक्त अन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

0 comments:

Post a Comment