Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks

Friday, June 21, 2013

हार्नेले मात्रै चुनाबी तालमेलको कुरा गर्छ


Bimalendra-nidhi
विमलेन्द्र निधी, काँग्रेस नेता
 नेपाली काँगेसका नेता विमलेन्द्र निधी पार्टीभित्र बरिष्ठ नेता शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा तथा वैचारिक नेताका रुपमा चिनिनुहुन्छ । मधेशी समूदायमा अग्रणी नेताका रुपमा चिनिने निधीसंग काँग्रेसको चुनावी तयारीका साथै समसामयिक राजनीतिका विषयमा माधव धितालले गरेको कुराकानी :
 ० मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्छ र दिनु हुँदैन भन्ने काँग्रेसभित्र दुईखालका कुरा आए, पार्टीको आधिकारिक धारणा के हो ?
काँग्रेसको आधिकारिक कुरा प्रधानन्यायाधीशवाट राजीनामा दिनुहुँदैन भन्ने हो । रेग्मीले राजीनामा दिनासाथ यो सरकार विघटन हुन्छ । त्यसकारण अहिले हामीले त्यस्तो कुनै पनि काम गर्न चाहँदैनौं, जसले गर्दा सरकारलाई अप्ठेरो परोस् । हाम्रो केन्द्रीय विषय भनेको संविधान सभाको चुनाव गराउनु हो । निर्वाचन गराउनकै लागि यो सरकार गठन भएको हो । दलहरुकै वीचमा सहमति नभएरै निर्दलीय सरकार गठन गरेको कुरा पनि जगजाहेर नै छ । त्यसकारण यो तटस्थ सरकार गठन भएको हो र यसलाई निष्पक्ष रुपमा निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । बहालवाला प्रधानन्यायाधीशलाई अन्तरिम मन्त्रिरिषदको अध्यक्षको जिम्मेवारी दिइएको हो । त्यसैले राजीनामा दिनुपर्छ भनेर सभापति सुशील कोइरालाले भन्नुभएको छ भने त्यो उहाँको निजी अभिव्यक्ति हो, पार्टीको आधिकारिक धारणा होइन ।
 ० पार्टी सभापतिले नै त्यस्तो अभिव्यक्ति दिएपछि अलिकति द्विविधा उत्पन्न भएन र ?
हैन, द्विविधा छैन । सभापतिजीको मुखवाट त्यसरी निस्किएको हो भने केही भ्रम उत्पन्न भएको होला । स्वभाविकरुपमा भ्रम त हुन्छ नै । तर, उहाँसँग मेरो भेट भएको छैन । उहाँले त्यसो भन्नुभएको हो भने उहाँको यो निजी कुरा हो मैले अघि पनि भने ।
केही दलका नेताहरुले भनिराख्नु भएकाले पनि होला राजीनामा दिँदा समस्या समाधान हुन्छ भनेर । तर, आधिकारिक कुरा के हो भने प्रधानन्यायाधीशवाट रेग्मीले राजीनामा दिनुहुँदैन र राजीनामा माग्नु पनि हुँदैन । चुनावलाई नै केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ । बढिरहेको पनि छ काँग्रेस ।
 ० थ्रेसहोल्डबारे काँग्रेसको धारणा के हो ? थ्रेसहोल्ड कायम गर्नु पर्छ भन्ने हो कि यसबारे पार्टी लचिलो हुन तयार छ ?
 संविधानसभाको निर्वाचनका लागि थ्रेसहोल्ड राम्रो कुरा हो । तर अब संविधानसभाको निर्वाचन गराउनु सबैभन्दा मूल उद्देश्य हो काँग्रेसको । संविधानसभाको निर्वाचन गराउन हामीले के-के त्याग गर्नुपर्छ, त्यो गर्न तयार छौँ । र, सबै दल तयार हुनुपर्छ । हामी थ्रेस होल्डवारे लचिलो हुन तयार छौं । तर चुनाव हुनुपर्छ ।
 ० नेपाली काँग्रेसको चुनावी तयारी कस्तो छ त ?
 काँग्रेस केन्द्रीय समितिले आफ्ना प्रतिनिधिलाई एक महिनाका लागि देशभर खटाएको छ । त्यहीअनुसार केन्द्रीय नेताहरु जिल्ला-जिल्लामा पुग्नुभएको छ । यो एक महिने अभियान सकिएर त्यहाँको स्थलगत विवरण आएपछि अवस्था बुझेर फेरि खटाउन सकिन्छ ।
० तराई मधेसको कुरा गरौँ , तराईमा सबै दलको आँखा लाग्ने गरेको छ । तपाईहरुले काँग्रेसको स्थिति तराईमा कस्तो पाउनुभएको छ ?
मधेसमा अहिले धेरै नै राम्रो छ । तर, सत्य बोल्नुपर्दा टिकट वितरणमा नेपाली काँग्रेसमा एउटा क्षेत्रमा तीनजना, चार जना उम्मेदवारहरुले इच्छा राख्नु स्वभाविक हुन्छ । अनि कुनै एउटाले पायो भने अर्कोले असहयोग गर्ने प्रवृति देखिएको छ । यो प्रवृति हटाउनका लागि नेतृत्वको ध्यान पुग्नुपर्छ । नेपाली काँग्रेसमा नेताहरुको कमी छैन । हरेक क्षेत्रमा एक से एक नेताहरु छन् । त्यसैले मैले भन्ने गरेको छु अरु पार्टी जस्तो तालमेल काँग्रेसलाई जरुरी छैन । तर, पार्टीभित्रै भने तालमेल हुन जरुरी छ । एमाओवादीले तालमेलको कुरा गरिरहेको छ, एमालेले पनि तालमेल भनिरहेको छ, यसको अर्थ के हुन्छ ? यसको अर्थ उनीहरु कमजोर छन् भन्ने नै हो ।
० भनेपछि तपाईहरुले चुनावमा कसैसंग तालमेल गर्नुहुन्न ?
 काँग्रेसमा नेताहरुको कमी छैन । सबै क्षेत्र गाउँ, नगर तथा जिल्लामा निर्वाचित कार्यसमिति छ । त्यहाँ एक से एक नेताहरु छन् । देशको राष्ट्रिय मुद्दाहरुका विषयमा सहकार्य गर्नु एउटा विषय हो, तर चुनावको विषयमा साढगाँठ गर्नु अर्को विषय हो । त्यसकारण देशको राष्ट्रिय राजनीतिका विषयमा, संविधान बनाउने विषयमा, संघीयताका सवालमा, गणतन्त्रको विषयमा, धर्म निरिपक्षेताको विषयमा, मिश्रति निर्वाचन प्रणालीको विषयमा तालमेल गर्नु एउटा कुरा हो । तर, निर्वाचनमा भने काँग्रेसले तालमेल गर्दैन । किनभने तालमेल जसले चुनावमा पराजय पाउने निश्चित हुन्छ त्यसले गर्ने हो । जसले २ सय ४० वटै निर्वाचन क्षेत्रमा जित्ने आशा राखेको हुँदैन, जुन दल कमजोर छ, त्यसले मात्रै सबै क्षेत्रमा तालमेल गरेर, बाँडफाड गरेर चुनाव लड्ने हो । काँग्रेस आफै सक्षम छ काँग्रेसले एक्लै चुनावमा लड्न सक्छ, कसैसंग तालमेल गर्दैन । काँग्रेसलाई चुनाव जित्न अरुसंगै तालमेल नगरी पार्टीभित्रै तालमेल गर्नु जरुरी छ ।
 ० काँग्रेसले आफ्ना मान्छे र आफू निकटका नेतालाई मात्रै चुनावमा टिकट दिने गरेको र त्यही कारणले विगतमा चुनावमा पराजय व्यहोरेको भन्ने आरोप कार्यकर्ताहरुको छ नि ?
जे सुकै होस् । टिकट वितरणको एउटा प्रणाली छ । क्षेत्रीय समितिलाई सिफारिस गर्न भनेका छौं, त्यो पनि बढीमा तीन जना । त्यही तीनजनामध्ये कसको सम्भावना बढी छ, त्यसलाई नै टिकट दिन्छौ । तर, कुनै कुनै ठाउँमा के हुन्छ भने कतिपय मान्छेहरु सिफारिसमा नपरेर नामहरु गएको होला, यो अपवाद हो । त्यो राम्रो कुरा होइन । अब अहिले चाँहि सकभर एकजनाको नाम एउटा क्षेत्रबाट सिफारिस भएर आयो भने अति नै राम्रो । तर, दुई-तीन जनाको आयो भने ती मध्येवाटै संसदीय बोर्डले उम्मेदवार चयन गर्छ । त्यसैले यो भन्दा उत्तम प्रणली मलाई लाग्छ राजनीतिकशास्त्रमा अरु छैन । विगतमा कमजोरी नभएको होइन, तर त्यस्तो कमजोरी हुन दिन हुँदैन ।
० हार्ने डरले एमाओवादीले चुनाव चाहेन भन्ने आरोप तपाइहरुले लगाइरहनुभएको छ । के एमाओवादी हार्ने डरले चुनाववाट भाग्न खोजेको हो ?
म यो विषयमा टिप्पणी गर्न चाहन्न । चार दलवीचकै सहमतिबाट बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरिएको हो । चुनावमा सबैले भाग लिनु पर्छ । काँग्रेस चाहन्छ, छिट्टै चुनावको मिति तोकियोस् । वार्ता र छलफल बढी भए । छिटोभन्दा छिटो दलहरुवीच थ्रेसहोल्ड लगायतका विषयमा सहमति जुटाएर निर्वाचन ऐन जारी गर्नु पर्छ । यदि त्यसो हुन सकेन भने चुनावको लागि गठन गरिएको सरकारको जिम्मेवारी हो चुनाव गराउने । सरकार अगाडि बढोस्, त्यसमा हामी तयार छौ ।
० नेकपा-माओवादी लगायतका दलहरुले ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउको खारेज नभएसम्म चुनावमा जान्नौ भनेका छन् । यस्तो अवस्थामा कसरी निर्वाचन हुन्छ ?
 मलाई त्यस्तो लाग्दैन । उहाँहरु पनि चुनावकै पक्षमा हुनुहुन्छ । उहाँहरुले कहिल्यै पनि भन्नुभएको छैन कि हामी चुनाव विरोधी हो । उहाँहरुले त सहमतिमा चुनाव हुनुपर्छ, हामी तयार छौं भन्नुभएको छ । अब निर्वाचनमा जान ढिलाइ गर्नु हुँदैन छिटोभन्दा छिटो निर्वाचन गर्नु पर्छ र निर्वाचनमा सबै दलले भाग लिनु पर्दछ । मोहन वैद्यजीहरुले भाग लिनु भएन भने पनि चुनाव रोकिँदैन । यतिमात्रै होइन, काँग्रेसले त मोहन वैद्य र उपेन्द्रजीहरु पनि उच्चस्तरीय राजनीतिक संयन्त्रमा आइदिए हुन्थ्यो भन्ने पक्षमा छ र त्यो पहल पनि गरेकै छ । अरु दलहरुबाट पनि कोही आउनुहुन्छ भने उहाँलाई पनि संयन्त्रमा राख्न काँग्रेस तयार छ ।

0 comments:

Post a Comment